झापा । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा र मेचीनगरमा आज महिलाहरुले विरोध प्रदर्शन निकालेका छन् ।

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले स्थानीय गणतन्त्र चोकमा भेला भएर महिला तथा बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदासिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेको हो ।

बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानूनअनुसार कार्वाही गर्नलगायतका माग राख्दै प्लेकार्ड तथा व्यानर राखेर प्रदर्शन गरेका थिए ।

परिवार र समाजमा छोरी चेलीहरु असुरक्षित भईरहेको र अपराधमा संलग्नहरु समेत पक्राउ नपरेकाले दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमुना निरौला अधिकारीले जानकारी दिइन । कार्यक्रममा जिल्ला संयोजक शिखा खड्का गणेश, जिल्ला उपाध्यक्ष गंगा भट्टराई र सचिव कविता थापालगायतले बोलेका थिए ।

यसैबीच, नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा मेचीनगरमा महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

शान्तिपूर्ण प्रदर्शनमा विद्यार्थीले ‘संविधानमा टाँसी दे, बलात्कारीलाई फाँसी दे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमत्कार, महिला हिंसा बलात्कारलगायतका नारा लगाएका थिए ।

त्रिदेव क्याम्पसबाट सुरु भएको र्याली मेची राजमार्ग हुँदै चारआली पुगेर कोणसभामा परिणत भएको थियो । नेविसंघ त्रिदेव एकाइ उपसभापति अर्जुन गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेविसंघ जिल्ला सदस्य नविन खतिवडा, नेविसंघ मेचीनगर सचिव रुपक पराजुली र नेविसंघ त्रिदेव एकाइ सभापति आइतहांग लिम्बूले कोणसभालाई सम्बोधन गरेका थिए ।

उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए । कोणसभाको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव तुलसी बस्नेत (सौरभ)ले गरेका थिए ।