झापा । भारतबाट लागूऔषध भित्र्याउँदै गर्दा दुई कारोबारी सिमावर्ती झापा गाउँपालिकामा पक्राउ परेका छन् ।
हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका वडा नम्बर ५ खादा बस्तीमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतीबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ०१-०१-०१५ प ८५६७ नम्बरकाे मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा शिवसताक्षी १ बस्ने २४ वर्षीय बुद्धिराज लिम्बू र २७ वर्षीय कृष्णप्रसाद खरेल दुवै जनाले मोटरसाइकलको ब्याक लाइटमा कालो प्लाष्टिकको ३ वटा पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको ब्राउनसुगर फेला परेको थियो ।
सो लागूऔषध १६ ग्राम ५४ मिलिग्रामको रहेको छ । मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।