बिर्तामोड । झापाको बिर्तामोड २ स्थित चारपानेमा रहेको जिम्स फिटनेस सेन्टरले देउसीभैलोबाट संकलित रकम बोनम्यारो पीडित ५ वर्षीय बालकलाई सहयोग गरिएको छ ।

 

तिहारको अवसर पारेर आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलित ३० हजार रुपैयाँ सहयोग गरेको हो । बोनम्यारो ट्रान्सप्लान्ट गरेका बिर्तामोड ५ का बालक उज्वल ठाकुरको परिवारलाई सेन्टरले शनिबार सहयोग हस्तान्तरण गरेकोे हो ।

 

सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेती, सेन्टरकी सल्लाहकार पार्वता गिरी, सदस्य निशा तामाङ उप्रेती, शान्ता गिरी, नेम्सु तामाङले संयुक्त रुपमा देउसीभैलोे कार्यक्रमबाट संकलित उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 

विभिन्न सामाजिक कार्य गर्दै आएको सेन्टरका सञ्चालक उप्रेतीले बालकको अवस्था एकदमै नाजुक रहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्। उनले अन्य विभिन्न संघसंस्थासँग पनि समन्वय गरेर सहयोग गर्ने आश्वसनसमेत दिए ।

 

यसैगरी सेन्टरकी सल्लाहकार पार्वता गिरीले आफू धेरै सामाजिक संघसंस्थासँग जोडिएकाले ती संघसंस्थासँग समन्वय र सहकार्य गरेर आर्थिक सहयोग जुटाउन सहयोग गर्ने बताइन् । सोही अवसरमा शान्ता गिरीले पनि एक हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरिन् ।

 

सेन्टरले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । सेन्टरले खुल्ला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम, लागूऔषधविरुद्धलगायतका कार्यक्रमहरु गरिसकेको छ ।

 

छोरा उज्वलको उपचारमा करिव ८० लाख रुपैयाँ खर्च भइसकेको बालकी आमा पिङ्की राजवंशी ठाकुरले जानकारी दिइन् । बालक उज्वल जन्मिएको ७ महिनादेखि बोनम्यारो रोगबाट पीडीत भएको उनको भनाइ छ ।

 

देश तथा विदेशमा रहने सबै मनका धनीलाई सहयोग गरेर छोराको जीवन बचाइदिन उनले आग्रह गरेकी छिन् । आमा पिङ्कीले आँखाभरी आसु झार्दै भनिन्, ‘म पनि बिरामी नै छु, तर, छोराको पिरले गर्दा आफ्नो रोग लुकाउन बाध्य छुु ।’

 

रोगी बालकका बुबा मुकेश ठाकुर बिर्तामोडमा सैलुन सञ्चालन गर्दै आएका थिए । छोरा बिरामी भएसँगै सैलुन बन्द गरेर आफूसँँग भएको जायजेथा र आफन्तहरुसँग ऋण लिएर भारतमा छोरा उज्वलको बोनम्यारो टान्सप्लान्ट गराए पनि अहिलेसम्म इन्फेक्सन भइरहने समस्या रहेको र बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गराइरहेको रहेको बताए ।

 

सहयोग गर्न चाहनेहरुले बिरामीका पिता मुकेश ठाकुुरको नाममा ग्लोवल आइएमई बैंकको बिर्तामोड शाखामा रहेको खाता नम्बर ०७७०७०१०००७९५८ मा सहयोग गर्न सकिनेछ ।