मोरङ । मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ चोरी निकासी गर्न लागेको ३ सय ५० कार्टुन मदिरासहित एक जनना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भारतको मटियारी ग्रामपञ्चायतका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरेको हो ।
जहदा गाउँपालिका-१ स्थित लंकाटोलबाट विभिन्न ब्राण्डका ३ सय ५० कार्टुन मदिरासहित रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
मदिरा अवैध रुपमा भारत लैजान लागेको विशेष सूचनाका आधारमा जहदा-१ का रमेश यादवको घरमा छापामारी गरेपछि उक्त परिमाणमा मदिरा बरामद भएको उनले बताए । घरधनी यादव फरार भएको र उनको खोजी कार्य भइरहेको राईले बताए ।
यादवले भारतीय नागरिक रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गरी नेपालमा उत्पादित मदिरा भारततिर तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताए । प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
यादवको घरबाट प्रहरीले सात लाख मूल्य बराबरको सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमंग, ब्ल्याक ओकलगायत ब्राण्डका मदिरा बरामद भएको प्रहरी नायब उपरीक्षक राईले बताए ।
मदिरा, सवारी साधन र पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । भारतको बिहारमा मदिरा उत्पादन, बिक्री बितरण र सेवनमा प्रतिबन्ध लगाएसँगै नेपालबाट भारततर्फ तस्करी बढेको छ ।