खुदुनाबारी । फाल्गुनन्द मिङ्सो माङहिम व्यवस्थापन समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी दातालाई सम्मान गरेको छ ।
२०७५ साललाई विदाइ तथा २०७६ साललाई स्वागत गर्ने कार्यक्रममा माङहिमको स्थापना तथा धुनी कुण्ड निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने दातालाई सम्मान गरेको हो । सम्मानित हुनेमा तेस्रो मुलुक पुनर्वास भएका नेपाली भाषी भुटानी शान्तिकुमारी सुब्बा (नर्वे), कृष्णकुमार राई (अमेरिका), दिनेश सुब्बा (नर्वे), पीवी राई (अमेरिका) छन् भने दमकका गोपाल लोगुन र दलबहादुर सोङ्मेनलाई पनि सम्मान गरियो ।
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३ नम्बर वडा कार्यालयलाई पनि सम्मान गरियो । सबै सम्मानित व्यक्तित्वलाई मेयर रानाले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मेयर रानाले नगरले खुदुनबारीलाई किरात धर्मको महत्वपूर्ण स्थानका रुपमा विकसित गर्न लागेको बताए ।
उनले अर्जुनधारा क्षेत्रलाई हिन्दू धर्मको आस्थाको केन्द्र बनाउन अर्जुनधारा जलेश्वरधाम र शनिश्चरेको कालिस्थानमा रहेको जेठा गुम्बालाई बौद्धमार्गीको आस्थानको केन्द्र बनाउने नगरको सोच रहेको जानकारी दिए ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामको अध्यक्षता तथा सहसंयोजक हर्कध्वज लिङदेनले स्वागत गरेको कार्यक्रममा ३ नम्बर वडाका अध्यक्ष जीवनकुमार भण्डारीलगायतले बोलेका थिए ।