काँकरभिट्टा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्काल लकडाउन नहुने बताएका छन् ।

भारतसँग सीमा जोडिएको झापा जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भए पनि सिमानाका व्यवस्थित गर्न सके तत्काल लकडाउन गर्नु नपर्ने उनको भनाइ थियो ।

प्रजिअ तिम्सिनाले जिल्लामा हालसम्म १९४ जना कोभिड १९ को सक्रिय संक्रमित संख्या रहेकाले यसलाई कम गर्दै लैजानका लागि पनि नाकालाई व्यवस्थित बनाउनका साथै आवतजावतमा कडाई गर्नुपर्ने बताए ।

सरकारले तराईमा ५ सय र पहाडमा २ सय कोरोना संक्रमितको संख्या पुगे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने निर्देशन दिएको भए पनि हाल झापामा त्यस्तो अवस्था नरहेको उनले प्रष्ट पारे ।

उनले मुख्यगरी काँकरभिट्टा नाकालाई सुरक्षित राख्न सके सबै सुरक्षित हुने भन्दै यो नाका सुरक्षित राख्नुपर्ने जिम्मा सबैको रहेको बताए ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाहलमा आयोजित छलफलमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जिल्लाका अन्य नाकाको तुलनामा काँकरभिट्टा नाका निक्कै संवेदनशील नाका भएकाले यसको व्यवस्थापनमा यहाँका यातायात, ट्राभल, होटल व्यवसायीसहित सरकारी र गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि लगायत नगरका उद्योगी-व्यवसायी सबै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

१४४ किलोमिटर खुल्ला सिमानामध्ये झापाको काँकरभिट्टा नाकालाई व्यवस्थित गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले पनि जोड दिएका थिए । काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज ग्राम पञ्चायत अन्तर्गतको पानीट्याँकी नाकासँग जोडिएको छ ।

काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयहरुका कारण कोभिड १९ संक्रमण बढ्न सक्ने भएकाले जिल्लाका अन्य नाका भन्दा काँकरभिट्टालाई व्यवस्थित र मानिसको आवतजावतमा कडाई गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।