झापा । चारआलीस्थित नयाँ श्रीनाथ गणका नेपाली सेनालाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्न चुनौती थपिएको छ ।
दिनप्रतिदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि सेनालाई जनशक्तिको अभाव भएको हो । जिल्लामा कोरोना संक्रमितको बढ्दो मृत्युसँगै जिल्लाभित्र मृत्यु भएका बाहिरका संक्रमितहरुको शवसमेत व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी नयाँ श्रीनाथ गणको रहेको छ ।
संक्रमितहरुको शव व्यवस्थापनका लागि गणले ६ वटा टीम खडा गरेको छ । त्यसमध्ये एकपटक तीन वटा टीम मात्र परिचालन गर्ने गरिएको छ । शव व्यवस्थापन गरिसकेपछि केही दिनका लागि बाँकी तीनवटा सैनिक टीमलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ ।
दिनमा ११–१२ जनासम्म संक्रमितको शव व्यवस्थापन गर्नुपर्दा समस्या भइरहेको गणपति अमरजंग थापाले बताए ।‘ हामीले एकपटक तीनवटा टीम परिचालन गरिरहेका छौं’, उनले भने, ‘एकैदिन र एकै समयमा धेरैजनाको मृत्यु भएपछि शव व्यवस्थापन गर्न समस्या हुन्छ ।’
जनशक्ति अभावकै कारण समयमा शव व्यवस्थापन गर्न सेना पुग्न सकेको छैन । ‘थोरै जनशक्ति भएकाले बोलाउने बित्तिकै हामी पुग्न सकेका छेनौं’, गणपति थापाले भने,‘ गुनासो नगरी त्यसलाई उहाँहरुले बुझिदिनु पर्छ ।’ जनशक्ति अभावका कारण जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको उनले बताए ।
संक्रमितहरुको शव व्यवस्थापनमा सहयोग गर्न गणले ४ जनाको कोभिड डेस्क स्थापना गरेको छ । त्यस्तै जिल्लाका १५ वटा पालिकामा सूचना संकलनका लागि एक–एकवटा टीम परिचालन गरिएको गणपति थापाले बताए ।