झिलझिले । व्यावसायिक पशुपालन गरिरहेका झापा शिवसताक्षी ६ का अधिकांश कृषकलाई पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासंग उनीहरू खुसी छन् । वडामा जुनसुकै योजना सञ्चालन हुन्छन्, अन्य वडाभन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन बृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि अब किसान पशुपालनमा आकर्षित हुन थाले । वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागु भएको छ । यो कार्यक्रम जिल्लामा सम्भवत पहिलो हो ।

किसान भन्छन्, ‘वडाले चौपायाको बिमा गरेपछि अब गोठैभरी पशु पालेर आयआर्जन बढाइन्छ ।’ स्थानीय ओमप्रकाश गुरुङ भन्छन्, ‘हाम्रा वडा अध्यक्षले ल्याएका हरेक कार्यक्रम डिप्लोमेटिक छन् ।’

वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बिमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आव्हान गरको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाको यो कार्यक्रममा १६० घरपरिवारका सदस्य सहभागी भएका छन् ।

सहभागी भएकामध्ये किसानले गाई, भैँसी, बाख्रा, बंगुर लगायतका पशुको विमा गरेको वडा अध्यक्ष खुलालले बताए । पशुको बिमा गरेबापतको लाग्ने शुल्क वडा कार्यलयले विमा कम्पनीलाई भुक्तानी दिन्छ ।

शर्मिला विकले पालेको भैँसी डेढलाख मुल्यको छ । पशु प्राविधिकको सिफारिसमा १ लाख मुल्यको भैँसीको बिमा उनले गराइन् । १ लाख ५० हजारमा गत वर्षमात्र छिमेकीबाट किनेर ल्याएकी शर्मिलाकोे भैँसीले दिनमा १६ लिटर दूध दिन्छ ।

‘यत्रो मुल्य हालेर भैँसी किनेको छु । कथम कदाचित भैंसी मरिहाल्यो भने त मेरो लगानी चुर्लुम्म डुबिहाल्छनी’, उनले भनिन्, ‘रिक्स कभरका लागि बिमा गरेकी हुँ । बिमा गरेपछि कम्पनीले रिक्स व्यहोर्छ नी ।’

वडाको ठगबस्तीका अधिकाँस किसानका घरमा उन्नत जातका गाई छन् । २२ लिटरसम्म दूध दिनेखालका गाई किसानले पालेका छन् । चन्द्रडाँगी विउविजन केन्द्रमा केही वर्ष पहिले नश्ल सुधारका लागि राखिएको विउ साँढेका कारण बस्तीमा उन्नत जातका गाई पालन फस्टाएका छन् । उक्त बिउ साँढे यतिबेला मासिएको छ ।

भानुभक्त निरौलाका घरमा होलिस्टेन क्रस जातको गाई छ । बजारमा ९५ हजारसम्म मुल्य पर्न जान्छ । शनिबार वडा कार्यालयबाट खटिएको टोलीले गाईको ७५ हजारको बिमा गर्यो । भानुभक्तले भने, ‘विमा गरेबापतको लाग्ने शुल्क वडाले तिरिदिएपछि किसानको दुबै हातमा लड्डु पर्यो । न त विमा रकम तिर्नु पर्यो, न त कुनै रिक्स नै लिनु पर्यो ।’

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ । ‘बिमा प्रक्रियाबारे नबुझेर कतिपय किसान अलमलमा परेको शिवसताक्षी नगरको पशु स्वास्थ्य शाखाले जनाएको छ ।