झापा । सुनसरीको धरान उपमहानगरपालिका २० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

 

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बा. १ च ५०३८ र को. १ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा फेला परेको थियो ।

 

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन् ।

 

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका ११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार रामसागर बा १ च ५०३८ नम्बरका जिप चालक हुन् भने राजकुमार को १ च ८१८२ नम्बरका जिपका चालक हुन् । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।