काठमाडौँ । वर्षायाम सुरु भएसँगै डेंगुलगायत किटजन्य रोगहरुको जोखिम बढेको छ । सरुवा वा किटजन्य रोगहरु जस्तै डेंगु, मलेरिया, सर्पदंश, झाडापखाला लगायतका समस्याहरु देखिन थालेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ साउन १ गतेदेखि २०७८ असार १६ सम्म ५७ वटा जिल्लामा ४७७ जना डेंगुका बिरामी फेला परेका छन् ।

म्याग्दीमा सबैभन्दा बढी ८६ जनामा डेंगु देखिएको छ भने सुर्खेतमा ४९ र सिन्धुलीमा ४८ जना बिरामी भेटिएका छन् । त्यसैगरी, अछाममा २८, बाँकेमा १९, कैलालीमा ३१ र काठमाडौंमा ५ जना बिरामी भेटिएका हुन् ।

२०७६ मा महामारीको रुपमा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो । २०७६–२०७७ को तथ्यांक हेर्दा प्रदेश १ मा ८५१, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा ६६४३, गण्डकी प्रदेशमा २६८६, प्रदेश ५ मा १९०२, कर्णाली प्रदेशमा ४३, सुदूरपश्चिम प्रदेशमा ९५ गरी १२ हजार ३८९ बिरामी फेला परेको तथ्यांकमा छ तर १९ हजारको हाराहारीमा संक्रमण भएको हुन सक्ने महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलको भनाइ छ ।

प्याकुरेल भन्छन्, ‘सन् २०१९ मा आउटब्रेक नै भयो । अहिले वर्षाको सिजन सुरु भइसक्यो । सबैजसो सहरमा फाट्टफुट्ट संक्रमण देखिन सुरु गरिसकेको छ । मान्छेहरुको मोबिलिटी फेरि बढ्यो भने अवश्य पनि यो रोग बढ्न सक्छ ।’

उनका अनुसार अरु किटजन्य रोगहरुको पनि जोखिम बढ्दै गएकाले यसको व्यवस्थापन तथा नियन्त्रणमा ध्यान दिन जरुरी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।