मोरङ । मोरङ जिल्ला कारागारका कैदीमध्ये आधाजति लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन् । कारागारमा रहेका ९ सय ६४ थुनुवा कैदीमध्ये झन्डै आधा संख्या उनीहरूकै छ ।
मोरङ कारागारका नायव सुब्बा रामप्रसाद पोखरेलका अनुसार जिल्ला अदालतले दैनिक सरदर तीन जना लागूऔषध मुद्दाका थुनुवा कारागार पठाउने गरेको छ ।
जिल्ला अदालत मोरङमा पनि लागूऔषधसम्बन्धी मुद्दा हरेक वर्ष बढ्दो छ । हरेक वर्ष लागूऔषधसम्बन्धी मुद्दा सरदर दुई सयभन्दा बढी दर्ता हुने गरेका छन् । इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागूऔषध ओसारपसार र सेवन गर्ने दैनिक सरदर ५ जना किशोरकिशोरीलाई पक्राउ गर्दै आएको छ ।
‘लागूऔषध ओसारपसार गर्ने र खानेलाई पक्राउ नगरेको दिन नै हुँदैन,’ प्रहरी निरीक्षक प्रकाश राउतले भने, ‘कहिलेकाहीं त उनीहरूलाई पक्राउ गरेर थुनुवा कोठामा राख्ने ठाउँ पनि हुँदैन ।’
धरान, इटहरी, धनकुटा, विराट चौक, बेलबारी, पथरी र विराटनगरका किशोरकिशोरी लागूऔषध कारोबारमा संलग्न भएको पाइएको प्रहरीको भनाइ छ । तीन महिनासम्म थुनुवा राख्दा अधिकांशका परिवार भेट्न पनि आउँदैनन् । केही धनाढ्य परिवारका चाहिँ आफ्ना छोराछोरीलाई भेट्न र अदालतको फैलसलापछि धरौटी राखेर छुटाएर पनि लैजान्छन् ।
प्रहरीका अनुसार केही थुनुवाका परिवारजनले यो कहिल्यै सुध्रिएन भन्दै माया मारेर फर्कने गरेका छन् । केही कारोबारी पटकपटक कारागार सजाय काटेर छुटेको समेत पाइएको छ । कान्तिपुरबाट