इलाम । इलाम नगरपालिका १ स्थित नेपालटारमा एक घर जलेर नष्ट हुँदा ४४ लाखभन्दा बढीको क्षति भएको छ ।
नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलवार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो ।
आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ । आगो निभाउन देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी खटे पनि क्षति भने टार्न सकेन ।