झापा। पछिल्लो चौबीस घण्टामा झापामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । बुधबार एकैदिन ५९ वर्ष उमेरदेखि १०१ वर्ष सम्मका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १०१ वर्षिय बृद्ध पनि रहेका छन् । कमल गाउँपालिकाका १०१ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सोही पालिकाका ८१ वर्षिया बृद्धाको पनि मृत्यु भएको छ । त्यस्तै भद्रपुरका ७० वर्षिय बृद्ध , दमककी ६२ वर्षिया महिला र बुद्धशान्तिकी ५९ वर्षिया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२७ पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १५७ महिला र १७७ पुरुष गरी ३३४ जनालाई संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमकका ८० र त्यसपछि बिर्तामोडका ६१ जना रहेका छन् ।
यसअघि मंगलबार पनि झापामा ४ जनाको मृत्यु हुनुका साथै ३१२ जना संक्रमित भएका थिए । योसँगै झापामा कोरोना संक्रमितको कूल संख्या २१ हजार ६२० पुगेको छ ।