बिर्तामोड । झापा जिल्लामा कोरोना संक्रमण जटिल बन्दै गएको छ ।

अब निषेधाज्ञाले मात्र कोरोना संक्रमण रोकिने अबस्था नरहेको डिसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । देशकै सबैभन्दा उच्च जोखिममा रहेर रेडजोनमै परेकाले अबस्था सामान्य नभएको बताउँदै उनले अझ सतर्क हुनुपर्ने आबश्यकता औल्याए ।

‘कोरोना संक्रमण चेनब्रेक भएकै छैन’, उनले भने, ‘कोरोना संक्रमण रोकथाम अपेक्षा बमोजिम हुन सकिरहेको छैन ।’ जिल्लाका १० वटा पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गरिरहँदा जिल्लाभर एकरुपता ल्याउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको प्रजिअ तिमिल्सिनाले बताए ।

प्रहरी प्रशासनले एक्लैले संक्रमण रोकथाम गर्ने अबस्था नदेखिएको भन्दै उनले अब प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने बताए । ‘प्रत्येक पालिकाले निषेधाज्ञा कार्यान्वयन र अनुगमनको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नु पर्यो’, उनले भने, ‘टोलको एउटा क्लब, टोल विकास समितिदेखि लिएर प्रत्येक नागरिक जिम्मेवार बन्नैपर्ने देखियो नत्र गाह्रो हुने भयो ।’

सरकारले देशका १७ वटा जिल्लालाई कोरोना संक्रमणको अति उच्च जोखिममा राखेको छ । त्यसमध्ये झापा पहिलो नम्बरमा रहेको छ ।

५ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लालाई सरकारले जोखिमयुक्त क्षेत्रको रुपमा सूचीकृत गरेको छ । जबकि झापामा सक्रिय संक्रमितको सँख्या ३ हजार ३२३ रहेको छ । त्यो हिसाबले झापा कोरोनाको अत्यन्त धेरै जोखिममा रहेको छ ।

जिल्लाका १५ वटा पालिकाको संक्रमण दरलाई हेर्दा बिर्तामोड, दमक, मेचीनगर र भद्रपुर रेडजोनमा रहेका छन् ।