ताप्लेजुङमा कागज बनाउँदै एक उद्यमी ।

ताप्लेजुङ । बारीभरि सात परिवारका लागि छुट्टछुट्टै घर बनाइदिएर राखेका छन्, मैवाखोला गाउँपालिका ३ साँघुका पहलमान चोङवाङले । तरकारी बारी र अलैंची बगान मासेर उनले सबैलाई पहाडे (हाते) कागज उत्पादनमा लगाएका हुन् ।

काम गर्ने मान्छे प्रशस्त पाइने भएपछि देशविदेशमा राम्रो माग हुने कागज र लोक्ता संकलन र निर्यातलाई जोड दिएका थिए ।
यतिबेला बिक्री ठप्प प्रायः हुँदा तिनै पहलमानको गोदाम एक वर्षयता कागजले भरिएको छ ।

अहिले दुई परिवार मात्रै काममा छन् । त्यो पनि पूर्णकालीन छैनन् । अरू खेती कम भएकालाई मात्रै कागज उत्पादन गर्न दिइएको पहलमान बताउँछन् ।

सिदिङवा गाउँपालिका १ कालीखोलाका टइन्द्र चापागाईंको अवस्था पनि उस्तै छ । सशस्त्र द्वन्द्वमा लामो समय सदरमुकाम बसेर शान्ति प्रक्रियापछि गाउँ फर्किएका उनले पनि कागज उत्पादनको काम थालेका थिए । सडकले नजोडिँदासम्म पनि गाउँको उत्पादन मान्छेलाई बोकाएर शहर पठाउने उनि पछिल्ला वर्ष मध्य पहाडी लोकमार्ग बनेपछि खुसी थिए ।

उद्योगभन्दा नजिकै सडक पुगेको र गाउँमा समेत ग्रामीण सडक बन्न थालेपछि ढुवानी सहज हुने आशामा थिए । तर, असहज बनायो त, कोरोना संक्रमणले । संक्रमणसँगैको निषेधाज्ञाका कारण उत्पादनदेखि बिक्री वितरणमा असर पुग्दा उद्योगलाई निरन्तरता दिन कठिन भएको चापागाईं बताउँछन् ।

जिल्लामा कच्चा पदार्थ प्रशस्त पाइने भएकाले जिल्लामा दुई दर्जन बढी कागज उद्योग दर्ता भएका थिए । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अनुसार दातृ संस्थाले पनि लोक्ता पकाउने भाँडो, धुने पानीका लागि पोखरी निर्माण जस्ता कार्यमा सहयोग गरेका थिए ।

महिला मात्रैले पनि उत्पादन गर्न सक्ने भएकाले मिक्वाखोलाको पापुङ, साँवा, सिदिङवाको कालीखोला, सादेवामा महिला मात्रैले पनि कागज उद्योग सञ्चालन गरेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुरज ओझा बताउँछन् । उनका अनुसार बिक्रीमा समस्या भएपछि यी सबै बन्द भएका छन् । कान्तिपुरबाट