संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा जारी ऐतिहासिक मदन मेला २०८३ को अवसरमा आयोजित पुरुष फुटबलतर्फ संखुवासभाको नव सिर्जन प्रगतिशील युवा समूह र ताप्लेजुङको सोधुङ सेन्दाङ एफसी फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनल खेलमा सोधुङ सेन्दाङले स्थानीय टोली एएलजी ह्वाकुमाथि गोल वर्षा गरेको थियो । साविक विजेता सोधुङ सेन्दाङले ह्वाकुविरूद्ध ५-० गोलअन्तरले जित निकालेको हो ।
सोधुङ सेन्दाङका लागि नितेश लिम्बू र किसन राईले समान २-२ गोल गर्दा सन्दिप गुरूङको नाममा एक गोल रह्यो । खेलको प्लेयर अफ दी म्याच किसन राई भए । उनले नगद २ हजार पाए ।
यसैगरी, अन्तिम समिफाइनलमा संखुवासभाले पाँचथर एफसीमाथि २-० गोलको नतिजाबाट पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । उसका लागि दिपेश श्रेष्ठ र लाहान पतङ्वा सुब्बाले गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच लाहान सुब्बा भए । उनले नगद २ हजार पाए ।
२०१५ सालदेखि लाग्दै आएको मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ७ टोली सहभागी थिए । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् । खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष टासी लामाले बताएका छन् । गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।
त्यस्तै महिलातर्फ विजेताले ८० हजार ५५५ बाट बढाएर १ लाख ११ हजार १११ र उपविजेताले ५० हजारबाट ५५ हजार ५५५ पुर्याइएको छ ।