भदौ १ गतेमात्र बिर्तामोड क्षेत्रबाट पक्राउ परेका व्यक्तिहरु ।

झापा । भदौ महिनाको पहिलो दिन नै झापाबाट ६ जना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परे । बिर्तामोडका तीन स्थानबाट दुई महिलासहित ६ जना ब्राउनसुगरसहित समातिए ।

मंगलबार साँझ ५ बजे बिर्तामोड १ चारपाने बस्ने २२ वर्षिया देवी तामाङको घरमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घरधनी तामाङ र उनका साथी बिर्तामोड ५ बस्ने २१ वर्षिया सीता खतिवडालाई पक्राउ गर्यो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ४ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको छ ।

त्यस्तै मंगलबार नै दिउँसो ४ बजे बिर्तामोड ५ जात्रुबारी चौकको बाटोमा ईप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ बस्ने २० वर्षिय रतन राजवंशी र सोही ठाउँका २४ वर्षिय सुरज चौधरीलाई शंका लागेर चेकजाँच गर्दा सुरज चौधरीको साथबाट प्लाष्टिकसहित ३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मंगलबार दिउँसो नै बिर्तामोडको नयाँ बसपार्कबाट अर्जुनधारा ५ बस्ने २७ वर्षिय मनोज चौधरी र बिर्तामोड ५ बस्ने २३ वर्षिय सुमन तामाङ ब्राउनसुगरसहित पक्राउ परे । प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा चौधरी र तामाङको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरी उनीहरुले सवार गरेको मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/२०७९ को पहिलो साउन महिनामा लागूऔषधमा संलग्न दुई महिलासहित ३१ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध २१ वटा मुद्धा दर्ता भएका छन् ।

पक्राउ परेकाको साथबाट ७ सय ग्राम गाँजा र १८० ग्राम ९४० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसबाहेक अन्य लागूऔषध पनि बरामद भएको थियो । एक महिनाको अवधिलाई हेर्दा गत आर्थिक वर्षको तुलनामा झापामा लागूऔषधका घटनामा बृद्धि भएको छ ।

विगत तीन वर्षमा भएका लागुऔषध कारोबारको गतिविधिलाई हेर्दा गत आर्थिक वर्षमा अत्यधिक बृद्धि भएको पाइएको छ । प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३०७ जना लागूऔषधका घटनामा संलग्न पक्राउ परेका थिए ।

त्यसको अघिल्लो वर्ष २०७६/२०७७ मा १९१ जना पक्राउ परेका थिए भने त्यसको अघिल्लो वर्ष २०७५/०७६ मा २०० जना पक्राउ परेका थिए ।