रसुवा । जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् ।

कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ ।

बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन बढ्नसक्ने भएकाले चिकित्सकसमेतको परामर्शमा यस वर्ष विषेश मेला स्थगन गर्ने निर्णय गरिएको हो ।

सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए ।

भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ । रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको भन्दै समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा मेला स्थगन गरिएको थियाे । उनले संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने स्पष्ट पारे ।

गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड-१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष निलेर प्राणी जगत्लाई बचाउनु हुने शङ्कर भगवान् बिराजमान रहेको उक्त पवित्र कुण्डमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता रहेको छ ।