पाँचथर । जिल्लाका आठवटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ ।
गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु १८ करोड चार लाख २८ हजार बेरुजु देखाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जिल्लाको याङवरक गाउँपालिकामा सबैभन्दा कम र हिलिहाङ गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ ।
जिल्लाको चार स्थानीय तहमा तीन प्रतिशतभन्दा बढी र दुई वटा गाउँपालिकामा एक प्रतिशतभन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार जिल्लाको तुम्बेवा गाउँपालिकामा ४८ लाख ३९ हजार, मिक्लाजुङ गाउँपालिकामा एक करोड १७ लाख ७३ हजार बेरुजु देखिएको छ ।
यसैगरी हिलिहाङ गाउँपालिकामा तीन करोड ३० लाख २७ हजार, याङवरक गाउँपालिकामा आठ लाख नौ हजार बेरुजु देखिएको छ । फालेलुङ गाउँपालिकामा तीन करोड १५ लाख १६ हजार र फाल्गुनन्द गाउँपालिकामा १ करोड ७० लाख १७ हजार बेरुजु रकम देखिएको छ ।
जिल्लाको एकमात्रै नगरपालिका फिदिममा पाँच करोड ५० लाख ४६ हजार, कुम्मायक गाउँपालिकामा दुई करोड ६४ लाख सात हजार बेरुजु आएको छ ।
स्थानीय तहले पूर्वतयारीविनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।