अर्जुनधारा । झापाको शनिश्चरेदेखि पूर्वतर्फको चारआली चोक जोड्ने सडक मंगलबार दिउँसोदेखि सुचारु भएको छ । २ दिनअघि आएको अविरल वर्षाले सालबारी पार्क पूर्वतर्फको कल्भर्ट भासिएपछि सवारी अवरुद्ध भएको थियो ।

अविरल वर्षाका कारण अर्जुनधारा ११ मा पर्ने उक्त कल्भर्टमा निरन्तरको वर्षाले क्षति पुराएपछि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको आलोचना भएको थियो । सोही सडक भएर मेयर राना घर आउजाउ गर्छन् ।

कल्भर्ट भत्किएको स्थानको १० मिटरमा प्रदेश सांसद बृख प्रधानको घर छ । यही कारण पनि सामाजिक सञ्जालमा आलोचना भएको यिथो ।

तर, नगर प्रमुख रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्टको पंखा मंगलबार मर्मत भएको हो । बर्षाका कारण कल्भर्टको दुवै साइडका पंखा भत्किएपछि सडक अवरुद्ध भएको थियो ।

नगरको टोलीले स्थानीय सरकारको साधनस्रोत प्रयोग गरेर सहजरुपमा सवारी साधन सञ्चालन हुने वातावरण सिर्जना गरेको हो । कल्भर्टको दुवै साइडमा वाङ्गिएका पंखालाई मिलाई उक्त स्थानमा गिटीबालुवा लगाएर पुनर्निर्माण गरिएको नगर प्रमुख रानाले जानकारी दिए ।