झापा । बिर्तामोडका ब्लड क्यान्सरपीडित राजु चौधरीको उपचारमा सहयोग जुटाउन बिर्तामोडमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

इलाइट युथ क्लब बटारे बिर्तामोडद्वारा आयोजित फुटसल च्यारिटी टुर्नामेन्टमा चार टिम सहभागी थिए । जसमा जात्रुबाढी, धुलाबारी, बटारे र सैनिक टिमले प्रतिस्पर्धा गरेका थिए ।

एब्सुलट फुटसलको प्रायोजन रहेको उक्त च्यारिटी फुटसलबाट २० हजार रुपैयाँ संकलन भएको इलाइटका कार्यक्रम संयोजक जितेन राईले जानकारी दिए ।

चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । अहिले उनको काठमाडौँमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भोलि भारत लगिने तयारी गरिएको छ ।

चौधरीको तीन हप्ताअघि बिराटनगरमा उपचार भइरहेको बेला स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।

उनको उपचारका लागि भारत लगिने भएको हुँदा खर्च अझ बढ्ने बताइएको छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।

त्यस्तै, झापाका विभिन्न संघसंस्थाले पनि फरक ढंगबाट आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।