पत्रकार सम्मेलनमा घाइते दम्पत्ति र आफन्त ।

बिर्तामोड । दुर्घटनामा परी लामो समयदेखि उपचाररत श्रेष्ठ दम्पत्तिले बिएन्डसी हस्पिटलले आफूहरुलाई बन्धक नबनाएको बताएका छन् ।

०७७ साल फागुन १९ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को १ ख १६८४ नम्बरको ट्रकले प्रदेश १-०१-००१ च ०१६७ नम्बरको कार र प्रदेश १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रक विराटनगरस्थित रिजाल ग्यास उद्योगको हो । दुर्घटनामा कारमा सवार दुई जनाको ज्यानै गएको थियो भने मोटरसाइकलमा सवार शिवसताक्षी २ का यामबहादुर श्रेष्ठ (३९) र श्रीमती सनम गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी यामबहादुरको दाहिने खुट्टा काट्नु परेको थियो भने सनमको पनि दाहिने खुट्टामा स्टिल लगाइएको छ ।

दुर्घटना भएपछि उनीहरुको बिएन्डसीमा उपचार भइरहेको थियो । तर, अचानक हस्पिटलले बन्धक बनाएको समाचार आएपछि आज हस्पिटल परिसरमा श्रेष्ठ दम्पत्तिले पत्रकार सम्मेलन आयोजना गरी आफ्ना भनाइ राखेका हुन् ।

काठमाडौँकाे एक दैनिक पत्रिकामा छापिएको समाचारजस्तै आफूहरुलाई बन्धक नबनाएको उनीहरुको भनाइ थियो । सनमले रुँदै भनिन्, ‘हामीलाई बन्धक बनाएको होइन।’ उनले बाँकी कुनै शब्द बोल्न सकिनन् । एकोहोरो रुइमात्र रहिन् ।

उनका श्रीमान यामबहादुरले पनि बन्धक नबनाएको सुनाए । आफूहरु लामो समय हस्पिटलमा बसे पनि बन्धकको रुपमा नरहेको बताए ।

एक जना पत्रकार आएर घटनाबारे सोधको भए पनि हस्पिटलले बन्धक बनाएको आफूले नबताएको उनको भनाइ थियो । तर, तीन महिनाअघि नै डाक्टरले घर जान सक्नुहुन्छ चाहिँ भनेको उनले बताए ।

तर, खर्च अभावमा हस्पिटलको बिल तिर्न नसकेको उनीहरुको भनाइ छ । हस्पिटलमा करिब ४४ लाख रुपैयाँ श्रेष्ठ दम्पत्तिको उपचारमा खर्च भएको छ । जसमध्ये १० लाख जति बुझाइएको हस्पिटलले जनाएको छ ।

समाचारप्रति आक्रोस पोख्दै घाइतेका भाइ खेमप्रसाद श्रेष्ठले हस्पिटलविरुद्ध आफूहरुले बोल्दै नबोलेको शब्दलाई समाचार बनाएको दाबी गरे ।

दुर्घटना गराउने गाडी मालिकले उपचार खर्च व्यहोर्ने बेलामा भागेर हिँडेको बताउँदै न्याय पाउनका लागि पनि घाइतेलाई हस्पिटलमा राखिएको उनको भनाइ छ । हस्पिटलमा ल्याएपछि करिब पौने २ लाख रुपैयाँ बुझाएर गाडी मालिक सम्पर्कमा नआएको उनले बताए ।

प्रहरी प्रशासनले पनि ट्रकको गल्ती भएको भनाइ रहेको तर लामो समय लकडाउन भएकाले समयमै न्याय पाउन नसकिएको बताउँदै उनले भने, ‘नबुझी समाचार लेखियो, बरु हामीलाई न्याय दिने समाचार लेख्नुस् ।’

हस्पिटलमै बस्दा पनि गाडी मालिकले बेवास्ता गरिरहेको समयमा डिस्चार्ज लिएर घर जाँदा झन् न्याय पाउन सकिन्नँ भनेर पनि हस्पिटलमा बसेको उनले सुनाए । गाडी मालिकले उपचारको खर्च नतिरेका कारण हस्पिटलमै घाइतेलाई राखिएको उनले दोहोर्याए ।

घाइतेका मामा कृष्णकुमार राईले प्रकाशित समाचारले हस्पिटल र पीडितबीच फाटो ल्याएको भन्दै यस्तो समाचारले पत्रकारितामाथि अविश्वास पैदा भएको बताए । ‘यस्तो पत्रकारिताले पेशालाई नै बद्नाम गराउँछ’, उनले थपे ।

बिना पैसा पनि घाइतेको उपचारमा रोकावट नगरेको भन्दै हस्पिटललाई उनीहरुले धन्यवाद पनि दिएका छन् ।

यसैबीच, लामो समय उपचारमा राखिएका श्रेष्ठ दम्पत्तिलाई पैसा अभावमा पनि उपचारमा कमी नगरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । हस्पिटलमा रहेका उनीहरुलाई क्यान्टिनबाट खाना झिकाएर खुवाउँदै आएको पनि उनले सुनाए ।