धरान । विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर तनावग्रस्त भएको छ ।
धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फूलमाया राईको शनिबार बिहान मृत्यु भएको थियो । मृतकलाई इमरजेन्सीमा ल्याइपुर्याउँदा नै मृत भइसकेकाे प्रतिष्ठानकाे दाबी छ ।
तर, विरामीका आफन्तहरुले भने अघिल्लो दिन उपचारको लागि ल्याउँदा सबै नर्मल छ भनेर घर पठाइदिएको कारण मृत्यु भएको भन्दै सम्बन्धित डाक्टरलाई कारबाही गर्नुपर्ने, लाइसेन्स खारेजी हुनुपर्ने माग गरेका छन् ।
दिउँसो करिब २ बजेतिर मृतकका आफन्तजनहरु भेला भएपछि इमरजेन्सीमा केहीबेर तनाव भएको थियो । मृतकका आफन्तहरुले अघिल्लो दिन नै विरामी ठिकै छ भनेर घर पठाइदिएको भन्दै आक्रोश पोखेका थिए । राति गाह्रो भएपछि पुनः परिवारले विरामीलाई प्रतिष्ठानको इमरजेन्सी ल्याएका थिए ।
तर, उनको बाटोमा नै मृत्यु भइसकेको अस्पतालको भनाई छ । मृतकका आफन्तहरुले शव जिम्मा नलिँदा दिनभरि नै इमरजेन्सीमा तनाव भएको थियो । प्रहरीको रोहबरमा दिउँसो करिब ४ बजेमात्र शव मर्चरीमा लगिएको छ ।
प्रतिष्ठानका अस्पताल उपनिर्देशक डा दिव्यराज मिश्रका अनुसार मृतक परिवारले उजुरी दिएको कारण अस्पताल प्रशासनले कमिटी बनाएर घटनाको आन्तरिकरुपमा छानबिन गर्ने भएको छ ।
मृतक परिवारले स्वास्थ्य मन्त्रालय, प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र मेडिकल काउन्सिलमा पनि उजुरीको बोधार्थ दिएको हुनाले ती निकायबाट पनि छानबिन हुनसक्ने उनले बताए ।
‘अस्ति विरामी आउँदा मिर्गौलामा इन्फेक्सन र पत्थरी देखिएको थियो । तर, ब्लड प्रेसरलगायत अरु नर्मल भएकोले डिस्चार्ज भएको देखिन्छ’, मिश्राले भने, ‘उजुरी आएकोले आन्तरिकरुपमा छानबिन गछौं, मन्त्रालय र काउन्सिलमा पनि उजुरी पठाउनुभएको छ, त्यहाँबाट पनि केही होला ।’
तर, विरामीको त्यस्तो अवस्थामा डिस्चार्ज गर्न मिल्थ्यो कि मिल्दैनथ्यो भन्ने उहाँहरुको गुनासो हो, त्यसैले छानविन गर्न लागेको उनले सुनाए ।