तेह्रथुम । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ युवाहरु भौतारिरहेका छन् । तर, धनकुटाका युवाहरु भने सरकारी जागिर छाडेर गाईपालनमा रमाइरहेका छन् ।

२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका धनबहादुर कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरे । त्यसको केही समयपछि स्थानीय खाप्राङ माध्यमिक विद्यालयमा ५ वर्ष शिक्षकको रुपमा काम गरे ।

सरकारी जागिर छाडेर उनी अहिले यसरी घरमै व्यावसायिक गाईपालनमा रमाइरहेका छन् । २०६९ सालदेखि उनी व्यावसायिक रुपमा पशुपालन पेशामा लागि रहेका छन् । सरकारी जागिर खाँदा अरुको नियन्त्रणमा बस्नुपरेको थियो उनलाई ।

तर, अहिले स्वतन्त्र भएर आत्म सम्मानमा बसेको र महिनाकै एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि यहाँका युवाहरु पनि गाईपालनमा आकर्षित हुन थालेका हुन् ।

त्यसो त यहाँका महिलाहरु पनि गाईपालनमा निकै हौसिएका छन् । नजिकैको एक विद्यालयमा शिक्षकको रुपमा काम गरिरहेकी यमकुमारी कटुवाल पनि स्कुलको समयबाहेक यहि गाई फर्ममा भेटिन्छिन् ।

पशुपालनमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषकहरु यतातर्फ आकर्षित भएका हुन् । त्यसो त उनले खोले कुँडो, घाँस गर्नकै लागि चार जनालाई रोजगारीसमेत दिएकी छन् । पुरुषहरु रोजगारिको लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्दा सुखदुःख बाँड्न सहज भएको यहाँका महिलाहरुको बुझाई छ ।

यहाँका प्रत्येक कृषकको फर्ममा १५ वटाभन्दा बढी गाई रहेका छन् भने प्रत्येक कृषकले स्थानीय जातका घाँस पनि लगाएका छन् । दुध उत्पान हुन थालेपछि गाउँमै डेरी सञ्चालन गर्न कृषकहरु अग्रसर भएका छन् ।

बैदेशिक रोजगारीका लागि लाखौँ रुपैयाँ खर्च गरेर जानुभन्दा आफ्नै देशमा पसिना बगाए राम्रो आम्दानी गर्न सकिने भएकाले यहाँका युवाहरु पनि अहिले पशुपालन व्यवसायमा लागेका छन् ।

त्यसैले सरकारले कृषि व्यवसायमा लागेका युवाहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराइदिए स्वदेशमै केही गर्न चाहने युवाहरुलाई सहयोग मिल्ने थियो । इमेज खबरबाट