काठमाडौँ । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ओंत भेटिएको छ । यसअघि कोसीमा गरिएका अनुसन्धानहरुले ओंत भेटिएको उल्लेख गरे पनि तस्बिरसहितको प्रमाणहरु जुटाउन सकेको थिएन ।
बेल्जियमको एन्टवर्प विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेकी बायोलोजिस्ट रमा मिश्रले आरक्षमा ओंत भेट्टाएकी हुन् । उनले लगाएको क्यामेरा ट्र्यापमा ओंत कैद भएको हो ।
‘फिसिङ क्याट’को अध्ययनका लागि लगाइएको क्यामेरा ट्र्यापमा ओंत रेकर्ड भएको हो । अनुसन्धानकर्ता मिश्रले सन् २०१६ देखि कोसीमा ‘फिसिङ क्याट’ सम्बन्धी अनुसन्धान गर्दै आएकी छन् । फिसिङ क्याट बिरालो वर्गमा पर्ने जीव हो जसले माछा, मुसा,चरालगायत सीमसार क्षेत्रमा पाइने जीवहरुको सिकार गर्छ । ओंतको मुख्य आहारा माछा हो ।
‘मेरो मुख्य उद्देश्य फिसिङ क्याटको अनुसन्धान नै थियो’, उनले भनिन्,’कोसीमा ओंत पाइन्छ भन्ने त थियो तर फोटोसहितको प्रमाण थिएन । फिसिङ क्याटका लागि भनेर ट्रयाप राखेको थिएँ, फिसिङ क्याटसँगै ओंत पनि भेटियो । म निकै उत्साहित छु ।’
भेटिएको यो ओंत खैरो अर्थात ‘स्मुथ कोटेट ओटर’ हो । आरक्षण क्षेत्रको दक्षिण क्षेत्रको सीमसारमा ओंत भेटिएको अनुसन्धानकर्ता मिश्रले बताइन् । यो स्तनधारी जीव आईयूसीएनले ‘लोप हुन सक्ने’ जीवको सूचीमा राखेको छ भने साइटिसको अनुसूची -१ मा उल्लेख छ ।
पछिल्लो समय कोसीमा ओंत पाइने सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानबाट सुजिता ढकालले पनि अनुसन्धान गरेकी थिइन् तर उनको अनुसन्धानमा ओंतका पाइलाहरु देखिएको उल्लेख भएपनि तस्बिर भने कैद भएको थिएन ।
विगत ३० वर्षदेखि नेपालमा ओंत सम्बन्धी अनुसन्धान गर्दै आएका प्राणीशास्त्रीका प्राध्यापक पारसमणि आचार्यले सन् २००२ मा कोसी क्षेत्रमा गरेको अनुसन्धानमा पनि ओंत भेटिएको थिएन ।
त्यसअघि पनि कोसीमा ओंत देखिने गरेको बताइए पनि फोटोग्राफिक प्रमाण भने नभेटिएको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।