सुनसरी । सामूहिक बलात्कारको आरोपमा प्रहरीले इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ ।
६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो । एक जना फरार रहेका छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ ।
घटना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी उपमहानगरपालिका ८ भुर्कीमा इटहरी ९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी नजिकै रहेको बाटो छेउको धान खेतमा लगेर बलात्कार गरेका थिए ।
उनीहरुले ती महिलाले गलामा लगाएको सुनको दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार रुपैयाँसमेत लुटेको उजुरी परेपछि पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक कटवालले भने, ‘जबरजस्ती करणीमा संलग्न भएकामध्ये गोमन भन्ने सुनील चौधरीलाई गत शनिवार इटहरी १४ स्थित घरबाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको छ ।’
पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको इकान्तिपुरमा समाचार छ ।