पाँचथर । फालेलुङ गाँउपालिका ८ घर भई हाल फिदिम २ मा बस्दै आएकी तीन वर्षीया बालिकाको चिकित्सकको लापरबाहीले निधन भएको भन्दै उनका आफन्तले पाँचथर अस्पतालमा तोडफोड गरेका छन् ।

 

तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्यु भएपछि विभिन्न चरणमा गरिएको छलफल र सहमतिका प्रयास असफल भएपछि उनका आफन्त आक्रोसित एका हुन् ।

 

तोडफोडबाट अस्पतालको झ्यालमा रहेका सिसाहरु फुटेका छन् । मृतकका आफन्तहरु तोडफोडमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि सामान्य बल प्रयोग गर्नुपरेको जनाएको छ ।

 

ज्वरो आएपछि अस्पताल भर्ना भएकी बालिकाको निधन भएको घटनालाई लिएर मृतकका आफन्तहरुले यसअघि शव बुझ्न मानेका थिएनन् ।

 

ज्वरो आएपछि असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको बुधबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पताल आएपछि स्वास्थ्यमा सुधार आएर आजै डिस्चार्ज गर्न लागिएकी बालिकालाई राउन्डमा आएका चिकित्सकले सुइ लगाइदिएलगत्तै निधन भएको मृतकका आफन्तले बताउँदै आएका छन् ।

 

बेडमा आमासँग गफ गर्दै खाजा खाएकी बालिका सुइ लगाउनेबित्तिकै चिच्याएर बेहोस भएर २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाही भएको मृतकका काका युवराज थाम्सुहाङले दाबी गरेका छन् ।

 

अस्पतालले चित्तबुझ्दो जवाफसहित घटनाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको अडान थियो । यसैबीच, ‘एनाफाइलाटिक सक’का कारण बालिकाको निधन भएको हुनसक्ने अनुमान अस्पतालले दाबी गरेको छ ।