बिर्तामोड । झापा दमककी दुई महिलालाई सञ्चारमाध्यममा भूमाफिया भन्दै समाचार सम्प्रेषण भएकोप्रति दुःख व्यक्त गरिएको छ ।
जग्गा धनी सरस्वती दकाल र घनेन्द्रदेवी थापाको तर्फबाट बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गरिदिन पनि आग्रह गरेका छन् । जग्गाधनी सरस्वती ढकालले भनिन्, यो बूढेसकालमा आएर भूमाफिया भनेर समाचार आउँदा साह्रै चित्त दुखेको छ ।
घटना विवरणअनुसार बिर्तामोड ३ स्थित सैनिकमोड पश्चिमतर्फ रहेको ८ कठ्ठा जग्गा उनीहरुको नाममा धनीपूर्जा छ । करिब ३ दशकदेखि अरुले नै उपभोग गर्दै आएको जग्गा अचानक जग्गा धनी आएर चार किल्ला गर्न थालेपछि जग्गा हडप्न खोजेको भन्दै उनीहरुलाई भूमाफियाको संज्ञा दिइएको उनीहरुको भनाइ छ ।
जग्गाधनीलाई नै भूमाफिया भनेर केही सञ्चारमाध्यममा समाचार आएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । समाचारमा स्थानीय व्यवसायी लक्ष्मण बस्नेतलाई समेत जोडेर जग्गाधनी महिलाहरुलाई अपमान हुनेगरी एकलौटी ढंगले भूमाफिया जस्तो तुच्छ शब्द प्रयोग गरी दुष्प्रचार तथा समाचार प्रकाशित गरेकोप्रति जग्गाधनी महिलाहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
हाल बिर्तामोड नगरपालिका ३ मा रहेको कित्ता नं ५७७ सरस्वती ढकाल र घनेन्द्रदेवी थापाको संयुक्त नाममा धनीपूर्जा रहेको उनीहरुको भनाइ छ । २०४७ जेठ २५ गते तत्कालीन जग्गाधनी अनुपकुमारी लिम्बूका नाममा कायम रहेको जग्गा ढकाल र थापाको नाममा राजीनामा पास भएको उनीहरुको श्रेष्ताले देखाउँछ । उक्त जग्गा मालपोत कार्यालय तथा नापी कार्यालय भद्रपुरको श्रेस्ता अभिलेखमा उनीहरुकै नाममा कायम रहेको उनीहरुले बताएका छन् ।
आफ्नो जग्गा चारकिल्ला कायम गर्ने विषयमा २०७८ असोज १६ गते नापी कार्यालयमा निवेदन दिई अमिन आएर नापजाँच गरेको पत्रकार सम्मेलनमा जग्गाधनी ढकालले बताइन् । उक्त जग्गा सुकुम्बासी वा अरु कसैको नामको तथा श्रेष्ताको नभएको उनीहरुले दावी गरेका छन् ।
अमिनले पनि ८ कठ्ठामध्ये ५ कठ्ठामात्र फेला परेको जग्गाधनी खड्काले बताइन् । मालपोत र नापीको टिप्पणीमा केही जग्गा अदुवा खोलाभित्र परेको, केही जग्गा बाटोमा र केही सुकुम्बासीले भोगचलन गर्दै आएको उल्लेख छ ।
आफ्नो जग्गामा वर्षोंदेखि बसोबास गरिरहेका सुकुम्बासीलाई अहिले आएर उठाउने आफूहरुको नियत नरहेको जग्गाधनी ढकालले बताइन् । उनले जग्गा किनेको लामो समय भएको, यस बीचमा आफन्त गुमाएर, परिवार अलग भएको पीडाले आफू नै सम्हालिन नसकेकाले खोजबिन गर्न नसकेको उल्लेख गर्दै समस्या परेपछि मात्र जग्गाको खोजी गरेको पत्रकार सम्मेलनमा बताइन् ।
पत्रकार सम्मेलनमा उनीहरुका आफन्त ओमनाथ मैनालीले उक्त जग्गाको मालपोत स्थानीय तहमा बुझाउन जाँदा नलिने गरेको बताए । जग्गा खोजी गर्दा स्थानीय जनप्रतिनिधिले सहयोग गर्नुको सट्टा उल्टै धम्काउने गरेको उनीहरुको आरोप छ ।
उनले सो जग्गामा ५० घर सुकुम्वासी भनेर प्रचारप्रसार गरिएको भए पनि १० घर सुकुम्वासीमात्र रहेको जानकारी दिए । जग्गाधनीले न्याय नपाए अदालतसम्म जान पछि नपर्ने उनीहरुले बताएका छन् ।