फिदिम । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने दर्जनभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

 

फिदिम ४ की २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोराको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

 

त्यस्तै कुम्मायक गाउँपालिका २ माङ्जावुङकी ४० वर्षीया डम्बरकुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

 

यस्तै मिक्लाजुङ ५ र फाल्गुनन्द ४ मा एक-एक जनाको मृत्यु भएको छ । उनीहरुको भने सनाखत हुन सकेको छैन । मिक्लाजुङ ४ र फाल्गुनन्द १ एक गरी दुई जना बेपत्ता छन् ।

 

मेची राजमार्गको इलाम फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । पहिरो पन्छाउन ठाँउठाँउमा एक्स्काभेटर खटाइए पनि समय लाग्ने बताइएको छ ।