पाँचथर । बाढीपहिरोले क्षति पुर्याएको सडक मर्मत नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँका पहिरो पीडितलाई खाद्यान्न अभाव भएको छ ।
उक्त स्थानसम्म पुग्ने दुइवटै सडक क्षतिग्रस्त भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा त्यहाँ भोकमरीको अवस्था सिर्जना हुन लागेको स्थानीय बताउँछन् । पहिरो जानुअघि यहाँ झापाको दमकबाट कन्याटार, छ नम्बर बुधबारे हुँदै आउने बाटो प्रयोग गर्दै खाद्यान्नसहितका उपभोग्य वस्तु ल्याइन्थ्यो । यसको विकल्पमा राँके, रबि भेडेटार सडक प्रयोग हुँदैआएकोमा कात्तिक २ गतेदेखि दुवै सडक अवरुद्ध छन् ।
१ सय २६ घर परिवारका ६ सय ६४ जनसंख्या रहेको लेकगाउँमा पहिरोका कारण २० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । बाँकी सबैजसो घरमा पहिरोले क्षति पुर्याएको छ । ‘पहिरो पीडितमध्ये पूर्ण विस्थापित २० सहित न्यून आय भएका गरी २६ परिवारमा भोकमरी चल्न थाल्यो बाँकी सबै घर परिवारमा खाद्यान्न अभाव हुन थालेको छ’, स्थानीय शिक्षक सञ्जय राईले भने ।
लेकगाउँसम्म पुग्ने सडकसँगै, विद्युत र खानेपानीका संरचना पनि पहिरोले क्षत विक्षत भएकाले लेकगाउँ, खोलाखर्क र भाङटारका बासिन्दालाई थप सकस छ । लेकगाउँका सबै नागरिक प्राकृतिक नाकाबन्दीमा परेपछि गाउँपालिकाले भेडेटार ६ नम्बर बुधबार सडक आयोजनासँग समन्वय गरेर सडक खुलाउन प्रयास गरिरहे पनि तत्काल खुल्ने सम्भावना नरहेको गाउँपालिका अध्यक्ष अमरराज माखिम बताउँछन् ।
कन्याटार छ नम्बर बुधबारे खण्डबाट पन्छाउन थालिएको पहिरो छिचोल्दै स्काभेटर लेकगाउँवासीको पहुँचसम्म आइपुग्न कम्तीमा ७ दिन लाग्ने बताइएको छ ।
‘बचेखुचेको सबै खानेकुरा सकियो । सडक खुलुन्जेलसम्म भोकले मरिएला कि !’, स्थानीय राजन बानु भन्छन्, ‘यो बेला स्थानीय विरामी परे उपचार गर्ने आधारभूत स्वास्थ्य केन्द्र नजिक छैन, प्राकृतिक नाकाबन्दीको अवस्थामा पुगियो ।’
गाउँपालिका अध्यक्ष माखिम पहिरोको चपेटामा परेका स्थानीयलाई संघ र प्रदेश सरकारसँगै सामाजिक संस्थाले पनि वास्ता नगरेको गुनासो गर्छन् । ‘स्थानीय सरकार बुताले भ्याएसम्म सहयोग गरिरहेको छ, तर यस्ले पर्याप्त हुनेवाला छैन’ उनले भने ।
बाढीपहिरो गएको एक साता बित्नैलाग्दा कात्तिक ७ गते यस स्थानको निरीक्षणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावितलाई राहत दिन कुनै कसर बाँकी नराख्ने आश्वासन दिएर फर्केका थिए । देउवा फर्केको एक सातापछि आएका गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यस्तै आश्वासन दोहोर्याए तर पीडितले हालसम्म एक मुठ्ठी चामलसमेत नपाएको गुनासो गरेका छन् ।
गत कात्तिक १ गतेदेखि ३ गतेसम्मको वर्षाका कारण बाढी र पहिरो जाँदा मिक्लाजुङ क्षतिग्रस्त बनेको हो । पहिरोमा पाँचथरका विभिन्न स्थानमा ३१ जनाले ज्यान गुमाए । ज्यान गुमाउने मिक्लाजुङकै सबैभन्दा धेरै २२ जना छन् भने तीन जना अझै बेपत्ता छन् । इकान्तिपुरबाट