बिर्तामोड । संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सदस्य बन्ने घोषणा गरेका छन् । साकोसको २५औँ वार्षिक साधारणसभाको अवसरमा नेम्बाङले आफू सहाराको सदस्य बन्ने घोषणा गरेका हुन् ।
नेम्बाङले सहाराको सदस्यता लिन पाउँदा खुशी लागेको बताए । साधारणसभाका प्रमुख अतिथि नेम्वाङले सहारा नेपालको वार्षिक प्रगति र सहभागी वक्ताहरुले दिएको अभिव्यक्ति सुनेर प्रभावित भएको भन्दै सदस्य बन्ने घोषणा गरेका हुन् । उनले संस्थाको विगत र वर्तमान सुनेरै सदस्य बन्ने निर्णय गरेको बताए ।
नेम्बाङले ठट्यौली पारामा सहाराले भैँसी सुत्केरी हुँदा भत्ता दिने कुरा आफूलाई असाध्यै मन परेको बताए । प्रमुख अतिथि नेम्वाङले सहकारी संस्था समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण हिस्सा भएको बताएका छन् । उनले आफू पनि विभिन्न माध्यमबाट सहकारी आन्दोलनमा जोडिएको बताएका उनले सहाराको प्रशंसा गर्दै सहकारी अभियान देशको हितमा रहेको उल्लेख गरे ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी मार्फत मुलुकको कायापलट गर्न सकिने विचार व्यक्त गरे । उनले विभिन्न देशको सहकारीको इतिहास र उदाहरण दिँदै सहाराले उद्घोष गरेको बिग मर्जरको अवधारणा अत्यन्तै जरुरी भएको बताए । उनले सहारासँग लामो समयदेखि सँगसँगै रहेको बताउँदै सहाराले गरेको प्रगतीको प्रशंसा गरे ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, एमालेका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका उद्धव थापा लगायतले शुभकामना मन्तव्य राख्दै सहाराले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
सोही अवसरमा सहाराले राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा सहकारी अभियन्ता केशवप्रसाद बडाललाई सम्मान गरेको छ । साकोसले एक लाख एक हजार रुपैयाँ नगदसहित बडाललाई राष्ट्रिय ब्यक्तित्व सम्मान प्रदान गरेको हो ।
बडालले लामो समयदेखि सहकारी अभियानको उन्नयन्, प्रवर्धन र सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहँदै सार्वजनिक, निजी र सहकारीसहितको तीन खम्बे अर्थ नीति मार्फत मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने यात्रामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको साकोसले जनाएको छ ।
खुद नाफा ४५ करोड
नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाको आज चारपानेमा भएको २५औँ वार्षिक साधारणसभामा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।
गिरीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य बनाइएको छ । हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ पुगेको छ ।
प्रतिवेदनअनुसार संस्थाले रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको छ । हाल सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
संस्थाले एकीकरण प्रयासअन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजना अघि सारेको छ । त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
गत असार मसान्तसम्म एक लाख ५० हजार ३५४ शेयर सदस्य रहेको सहाराले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने प्रक्षेपण गरेको छ ।
एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ ।
९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सोअन्तर्गत यो वर्ष दुईजनाबाट सुरु गरिनेछ ।
३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ ।
संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष पवित्रा सुब्बाले शब्दद्वारा र इस्ट होराइजन मावि धुलाबारीका विद्यार्थीले नृत्यद्वारा स्वागत गरेका थिए ।
साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले २०५२ सालमा ३ लाख शेयर पुँजीबाट शुरु गरेको संस्थामा हाल १ अर्ब ४६ करोड ६५ लाखभन्दा बढी रहेको जानकारी दिए । संस्थाले गत आवमा ४५ करोड १२ लाख रुपैँया खुद नाफा आर्जन गरेको बताएको छ ।
प्रदेश १ को ८० स्थानीय तहमा विस्तार भएको सहारामा हाल १ लाख ५० हजार ३५४ जना शेयर सदस्य रहेका छन् ।