धनकुटा । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय निकै चर्चामा छन् । समाजसेवामा सक्रिय रहेका प्रसाईले बिर्तामोडमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाउन जोड दिइरहेका छन् ।
भर्खरै वर्ष व्यक्तिको सम्मान समेत पाएका प्रसाईले आइतबार धनकुटाको बेलहारा ५ स्थित देउराली माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा सहभागिता जनाए ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यसअघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आएका प्रसाईले उक्त विद्यालयका शिशु कक्षाका बालबालिकालाई शिक्षण सिकाईमा सहयोग होस् भन्ने भावनाले टिभी सहयोग गरेका हुन् ।
प्रसाईले आउँदो दिनमा पनि विद्यालयलाई भौतिक पूर्वाधारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने पाठेघरको क्यान्सरका बिरामीलाई पनि सहयोग गर्ने पनि बताए ।
उनले सोही अस्पतालमा पाठेघरको क्यान्सरको स्क्रिनिङ निःशुल्क गरिदिने घोषणा गरेका छन् । राजनीतिमा पनि सक्रिय रहँदै आएका प्रसाई सोमबार धनकुटाको छिन्ताङमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् । उक्त कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागी हुने छन् ।