बिर्तामोड । झापा बिर्तामोड नगरपालिका २ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति भएको छ । आइतबार राति विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो । उद्योगमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

 

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका ८ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।

 

आगलागीबाट सम्पूर्ण प्लाई फ्याक्ट्री नै ध्वस्त भएको संचालक दुर्गा भण्डारीले बताएका छन् । उनले आगलागीबाट गोदाम र गोदामभित्र रहेका सम्पूर्ण सामान, कागजपत्र सबै जलेर नष्ट भएको बताउँदै ७ करोडभन्दा बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

 

बिर्तामोड ४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाईका लागि चीनबाट आयात गरिएका महँगो कच्चा पदार्थ रहेको बताइएको छ ।