काँकडभिट्टा । नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण (ल्याब टेस्ट) गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले परीक्षणको बहानामा नेपाली चियामाथि घुमाउरो पारामा निषेध गर्न खोजिएको आरोप लगाए । ‘प्रयोगशालामा परीक्षण भइसकेको नेपाली चियालाई टी काउन्सिलले पुनः परीक्षण गर्ने जनाएको छ,’ उनले भने । ‘यसले हामीलाई दोहोरो क्षति पुग्छ ।’ उनका नेपाली चिया व्यवसायीले परीक्षणबापत ३ महिनामा करिब ५० हजार भारतीय रुपैयाँ तिर्दै आएका छन् । पुनः परीक्षण गर्ने कुराले फेरि आर्थिक भार थपिनेछ ।
त्यसमाथि परीक्षणको रिपोर्ट आउन केही समय लाग्छ । रिपोर्ट नआउन्जेल चिया बिक्री गर्न पाइँदैन । ‘दोहोरो मापदण्डले थप आशंका उब्जिएको छ,’ उनको दाबी छ, ‘नेपाली चियालाई जसरी पनि रोक्ने भारतको रणनीति हो यो ।’
नेपाली चिया आयातका लागि भारत पानीट्यांकीको भन्सार कार्यालयमार्फत भारतीय आयातकर्ताहरूले टी काउन्सिलमा धमाधम अनलाइन निवेदन दिन थालेका छन् । नेपाली चिया आयातमा भारतले नयाँ मापदण्ड लागू गरेपछि इजाजत लिन अनलाइनमार्फत निवेदन दिने प्रक्रिया सुरु भएको भन्सार एजेन्ट रोशन अग्रवालले जानकारी दिए ।
मेची भन्सार कार्यालयका अनुसार भारतीय अवरोधका कारण एक साताभन्दा बढी समयदेखि रोकिएको चियाको आंशिक निर्यात सुरु भएको छ ।
मंगलबार ५ गाडी अर्थात् करिब ६० टन चिया जाँचपासपछि निर्यात भएको हो । ‘भारतको चिया काउन्सिलको प्रमाणपत्रका आधारमा निर्यात प्रक्रिया सुरु भएको छ, यो सकारात्मक पक्ष हो,’ भन्सार प्रमुख केशवराज ओलीले भने, ‘भन्सारको गोदाममा थन्किएको करिब ५० टनभन्दा बढी चिया पनि चाँडै निर्यात हुने आशा छ ।’
भन्सार एजेन्ट अग्रवालले काउन्सिलको इजाजतपछि निर्यात भएको चिया आयातकर्ताले गोदाममा लगेर भण्डारण गर्छन् । टी काउन्सिलका अधिकारीले गोदाममै गएर चियाको नमुना संकलन गरी जाँचका लागि पठाउँछन् ।
जलपाइगुडीमा रहेको काउन्सिलको प्रयोगशालामा जाँच गरी नतिजा आउन करिब ३ साता जति लाग्नेछ । ‘ल्याब रिपोर्ट नआउन्जेल गोदामको चिया सिल गरिन्छ’, उनले भने, ‘नतिजा राम्रो आए बिक्रीका लागि इजाजत दिइन्छ, नराम्रो आए सिज गरिन्छ ।’
चिया नेपाली, ब्रान्ड दार्जिलिङ !
भारतको व्यापारिक कम्पनी टाटा कन्जुमर प्रोडक्ट लिमिटेड ९टीसीपीएल० ले नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको गुनासो बढेपछि केन्द्रीय वाणिज्य मन्त्रालयले छानबिनका लागि चिया बोर्डलाई निर्देशन दिएको छ ।
टाटा टीले उपभोक्तालाई पर्याप्त जानकारी नदिई प्याकेट चियामा नेपाली चिया मिसाएर बिक्री गरी गैरकानुनी काम गरेको भन्दै मन्त्रालयले छानबिनका लागि निर्देशन गरेको हो । टीसीपीएल दार्जिलिङ चियाको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । जसले वार्षिक करिब १० लाख किलो चिया किन्छ ।
आरोप प्रमाणित भए कानुनबमोजिम कडा कारबाही गरिने टी बोर्डले जनाएको छ । यसअघि तृणमूल कंग्रेसकी पूर्वराज्यसभा सांसद शान्ता क्षेत्रीलगायतले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयललाई पटक–पटक पत्राचार गर्दै नेपाली चिया आयातमा रोक लगाउन माग गरेका थिए । ‘नेपाली चियाले दार्जिलिङको चिया उद्योगलाई ध्वस्त पारिरहेको छ, आयात रोक्नुको विकल्प छैन,’ अघिल्लो वर्ष शान्ता क्षेत्रीले पठाएको पत्रमा उल्लेख छ ।
टाटा गोल्डले आफ्नो ब्रान्डमा नेपाली चिया मिसाएको, उत्पत्ति मुलुक नखुलाएको, आयातकर्ताको नाम, ठेगाना र चिया प्याकेजिङको विस्तृत विवरण नखुलाएको पाइएको छ । नेपाली चिया मिसावटबारे चिया बोर्डमा उजुरी गरे पनि कारबाही नभएको दार्जिलिङको रङटोङ चिया बगानका मालिक सञ्जय चौधरीको दाबी छ ।
मन्त्रालयले यस पटक भने कडा निर्देशन दिएकाले कारबाही हुनेमा चौधरीलाई आशा छ । मन्त्रालयले बोर्डलाई चिया मिसावटको विस्तृत अध्ययन गर्न, साइट भ्रमण गर्न र आयातकर्ताहरूको अभिलेख जाँच गर्न वरिष्ठ अधिकारीहरू सम्मिलित पाँच सदसीय उच्चस्तरीय समिति गठन गर्न पनि भनेको छ ।
मन्त्रालयको निर्देशनपछि बोर्डले नेपालसँग सीमा जोडिने भन्सार नाकालाई परिपत्र जारी गरेको छ । यो समाचार आजको कान्तिपुुर दैनिकमा छ ।