झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिकास्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

 

झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको हो । आज दिउँसो साढे १२ बजे पूर्वबाट-पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे हो । मृत्यु हुनेमा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेल छन् ।

 

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

अन्य घाइते भएकाहरुमध्ये ११ जनाको बीएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।