बिर्तामोड । झापाका एकै नगर क्षेत्रमा भएको सवारी दुर्घटनामा परी बुधबार एकैदिन तीन जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका क्षेत्रमा भएको दुई सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी दुई पुरुष र एक महिलाको ज्यान गएको हो ।

 

बुधबार दिउँसो कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा पूर्वबाट पश्चिम जाँदै गरेको ना. ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे. ७ प २८४६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा सवारी दुर्घटना भएको थियो ।

 

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार इलाम रोङ ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठेगाना भएका चन्द्रबहादु राईको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । बसका चालक चुलाचुलीका सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यसैगरी, बुधबार मध्यरातमा कनकाई नगरपालिका ८ मा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ५७१३ नम्बरको ट्रकको ठक्करबाट कनकाइ ८ निवासी राधिका सेडाइको मृत्यु भएको हो । कनकाइ ३ मा ठक्कर दिँदा सेडाइ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

 

उनका अनुसार ट्रक र ट्रक चालक बागमती नगरपालिका ४ का उत्तम वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।