झापा । दमकको एक पसलमा कामदारको रुपमा काम गर्ने एक व्यक्तिको हत्या गर्ने व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
दमक ६ मा रहेको रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक २ का तेजप्रकाश पराजुलीको हत्या भएको थियो । पराजुलीको हत्या अभियोगमा झापा दमक नगरपालिका १ का २० वर्षीय अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
मंसिर २९ गते दमक नगरपालिका ६ स्थित रक्षा फेन्सी पसलमा काम गर्दै आएका पराजुली धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारेका थिए ।
गम्भीर घाइते अवस्थमा फेला परेका उनलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमक १ का २० वर्षीय लिम्बस्लाई पुस १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । त्यसक्रममा पूर्व रिसइबीको कारण हत्या गरेको स्वीकार गरेका थिए । उनले घटनामा प्रयोग भएका दशीका सामानसहित प्रहरीलाई साविती वयान दिएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।