ताप्लेजुङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ ।
हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गएराति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताए ।

भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका ६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला ६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो ।