ताप्लेजुङ । हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन बढी लाग्ने भएको छ । सुकेटारदेखि पाथीभरा मन्दिरसम्मै बाक्लो हिउँ परेकाले बाटो खुल्न समय लाग्ने भएको हो । पाथीभरा जानका लागि सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक छ । त्यहाँबाट ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।

 

मोटरबाटोको तुलनामा पैदल हिँड्ने बाटोमा धेरै हिउँ भएको र त्यो बिलाउन साता दिनभन्दा बढी लाग्ने पाथीभराका कर्मचारी राजेन्द्र महत बताउँछन् । उनका अनुसार माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा अधिक हिउँ थुप्रिएको छ ।

 

सुकेटार-पाथीभरा ट्याक्सी चलाउँदै आएका चालक विपुल पोख्रेलका अनुसार रातको समयमा धुम्म भएर बादल लागे हिउँ चाँडो बिलाउँछ । तर राति आकाश खुले शीत पर्ने र त्यो शीतले हिउँ झन् दह्रो बनाउने भएको हुँदा यातायात चलाउन कठिन हुन्छ । ‘राति आकाश खुलिदियो भने हिउँ स्टिल जस्तो हुन्छ, बिलाउन पनि समय लाग्छ, फुट्न पनि फुट्दैन,’ पोख्रेलले भने, ‘हिउँ परेकै बेला तुँवालो लाग्यो भनेचाहिँ तापले जम्न पाउँदैन र चाँडो बिलाउँछ ।’

 

हिउँका कारण कच्ची सडक हिलाम्य भएको छ । हिउँ बिलाउँदा पानी हुने भएकाले सुकेटारदेखि काफ्लेपार्टीसम्म कतै पनि सुक्खा नभएको पोख्रेल बताउँछन् ।

 

पाथीभरा क्षेत्रमा तीन-चार फिट बाक्लो हिउँ जम्ने गरेको छ । ‘मान्छे हिँड्ने बाटोको हिउँ कोदालोले सोरेर पन्साउँछौं पनि,’ पाथीभराका कर्मचारी डिल्ली आचार्यले भने, ‘बाटो बाहिर त पछि वैशाख-जेठसम्मै हिउँ रहन्छ ।’

 

पाथीभरा मन्दिरदेखि पाँच सय मिटरसम्मको सडकमा छानो लगाइएको छ । हिउँदमा हिउँमा नलडुन् र बर्खामा पानीले नभिजुन् भनेर छानो लगाउन थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् । माथिल्लो फेदीसम्मै छानो लगाउने योजना छ । इकान्तिपुरबाट