पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाका अधिकांश स्थानहरुमा हल्का वर्षा भइरहेको छ । शुक्रबार अपराह्नबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

 

तिम्बु पोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । सदरमुकाम नजिक रहेको पौवा भञ्जाङ, सादुटार,सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको बताइएको छ ।

 

हिमपातको कारण उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने कृषकहरुको जनजीवन प्रभावीत भएको छ । बिहीबार मात्र फालेलुङका एक युवाको चिसोको कारण लेक लागेर मृत्यु भएको थियो ।

 

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् । बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो ।

 

जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भूभाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ ।