झापा । काँकरभिट्टामा बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति म्याग्दीबाट पक्राउ परेका छन् । आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराएको हो ।

 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोक्कालाई माघ २१ गते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका रेक्का म्याग्दीको रुममा मालिका गाउँपालिका २ का स्थानीय हुन् । उनले पश्चिममा ढुगां उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीले दिएको छ ।

 

रोक्काले यसअघि ३ पटक विष्फोटक पदार्थ नेपाल भित्र्याएको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्र्याएका थिए । त्यसबेला पनि भारतको दार्जिलिङ र काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रोक्का भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् ।

 

उनले नेपोलाइट र डिटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरिद गरी पश्चिम ढुंगाखानीका ठेकेदारलाई ३५ सयसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताइएको छ ।

 

‘यसअघि चर्चा भएजस्तो यो घटनामा भूमिगत समुहको संलग्नता देखिएन’, जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले भने, ‘घर आउँदा जाँदा अलिकति भए पनि कमाई हुने रहेछ । त्यसैले प्रायः घर आउँदा उक्त सामान ल्याउने गरेका रहेछन् ।’

 

यही माघ १८ गते मेचीनगर ७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।