काठमाडौँ । नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए।
उनले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए।
नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताए।
त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढे पनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताए। उनले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताए।
दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दूधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज (शुक्रबार) बाट लागू हुने जनाएको थियो।