बिर्तामोड । झापाको महाभाराका किसानलाई यसपालि धान बिक्री गर्न सकस भएन । उनीहरूले मूल्य पनि राम्रो पाए । सधैं बिचौलियाको फन्दामा पर्दै आएका किसान यसपाली आफ्नै संस्थालाई धान बेच्न पाउँदा दंग छन् ।

 

गौरीगन्ज गाउँपालिका १ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाले कृषि उपज बैंक (गोदाम घर) निर्माण गरेको छ । ३५ हजार मन क्षमताको गोदाम घर बनेपछि महाभाराका एक हजारभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित बनेका छन् । उत्पादित कृषि बाली गोदाम घरमा सुरक्षित राख्नुका साथै सहकारीले सुपथ मूल्यमा खरिद गरिदिँदा किसानले बाली विस्तारलाई पनि बढावा दिएका छन् ।

 

गाउँका किसानले धान बिचौलियालाई बिक्री गर्नुपर्ने बाध्यता छ । बिचौलियाले यति बेला धानको मूल्य प्रतिमन १ हजार ५० रुपैयाँ मात्र तोकेका छन् । तर, सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा धान किन्ने गरेको छ । सहकारीले रञ्जित जातको धान प्रतिमन १ हजार १६० र सर्ना प्रतिमन १ हजार १ सय रुपैयाँमा किनिरहेको व्यवस्थापक गंगाप्रसाद ढुंगानाले जानकारी दिए ।

 

‘संस्थाले धान खरिद गरिदिँदा धेरै सहज भएको छ । दाम पनि राम्रो पायौं । धान बिक्री गर्न झन्झट पनि भएन’, स्थानीय खेम राजवंशीले भने । सहकारीलाई गत पुस १४ मा सर्ना जातको धान ९३ मन बिक्री गरेको उनले बताए । ‘धान मात्र होइन, तोरी, मकै, गहुँ पनि संस्थाले किन्ने भनेको छ । हामीले उब्जाएका सबै बाली संस्थाले किन्यो भने त किसानलाई त्योभन्दा ठूलो राहत अरू के हुन सक्छ ?’ स्थानीय गोविन्द महतोले खुसी व्यक्त गरे ।

 

सहकारीले प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा गोदाम घर बनाएको हो । प्रदेश १ सरकारको तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७२ लाख ८४ हजार ५ सय १२ तथा सहकारीको ७४ लाख ७२ हजार १ सय ५८ गरी एक करोड ४८ लाख २७ हजार ९ सय ४७ रुपैयाँ लागतमा गोदाम घर बनाइएको ढुंगानाले जानकारी दिए ।

 

१५० फिट लम्बाइ तथा ५० फिट चौडाइको गोदाम घर करिब ३ कट्ठा जमिनमा निर्माण गरिएको छ । प्रदेश कृषिमन्त्री झलकबहादुर मगरले शनिबार गोदाम घर उद्घाटन गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।