ताप्लेजुङ । लामो समय पर्यटन आगमन सुनसान भएपछि निरास बनेका यहाँका व्यवसायी अहिले उत्साहित बनेका छन् । कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर यस क्षेत्रमा ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो ।

 

कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो । अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक तथा याम्फुदिन जाँच चौकीका पर्यटन सहायक सूर्यमान राईले बताए।

 

फक्ताङलुङ गाउँपालिका ६ घुन्साका होटल व्यवसायी पेमा शेर्पा कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको बताउँछन् । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि यसवर्ष ४७ आरोही आधार शिविर पुगेका छन् ।

 

यसवर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर​ पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् ।

 

दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँच चौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिइन् ।