जानुका ढुङ्गाना,

आमा निःस्वार्थ मायाको खानी, सृष्टिकर्ता जन्म जननी हुन् । मातालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकोछ । त्यसैले ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भवु भनेर सनातन धर्म शास्त्रअनुसार सबैभन्दा अग्रपङ्तिमा राखेर ब्याख्या गरेको पाइन्छ।

 

कथाअनुसार गाईबस्तु चराइरहेको एउटा गोठालोको हातबाट अन्जानमै झरेको रोटीको एक टुक्रा एकाएक हाराउँदा सबै गोठालाहरु अचम्मित भइ हराउनुको कारण खोज्दै जाँदा जसको हातबाट रोटीको टुक्रा झरेर हरायो उसकी आमा दिवङ्गत भइसकेको र रोटीको टुक्रा हराएको उक्त दिन वैशाख महिनाको कृष्ण पक्षको औंसीको दिन (आमाको मुख हेर्ने दिन) परेको हुँदा हराएको रोटीको टुक्रा दिवङ्गत आमाले खाएको हुनसक्ने अनुमान गरी सोही समयदेखि माता तीर्थ औंसी मनाउने चलन चलेको विश्वास गरिन्छ।

 

रोटी हराएको उक्त ठाउँ चन्द्रागिरी नगरपालिकास्थित माता तीर्थ कुण्ड रहेको स्थान नै भएको कुरा धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । यो दिन दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिका साथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

 

पर्वको विशेषता बोकेका हरेक तिथिहरुको छुट्टाछुट्टै महत्व हुन्छ । शास्त्रआनुसार मनुष्यको एक वर्ष पितृको लागि एक दिन हुन्छ भन्ने मान्यता छ । त्यसैले मातातीर्थ औंसीको दिन दिवङ्गत भएका माताहरु र कुशे औंसीको दिन दिवङ्गत भएका पिताहरुलाई स्मरण गर्ने विशेष दिन मानिन्छ।

 

हामी आमाको साथै भएर पनि आमाको मनोभावना बुझ्दैनौँ । आमाले आफ्नो सन्तानप्रति धेरै इच्छा, चाहाना वा अभिलाषा राखेको हुन्छ। यसतर्फ हाम्रो ध्यानाकर्षण हुनु अति जरुरी छ।हाल बढ्दो आधुनिकता र ब्यस्त जीवनका कारण आफ्नो बृद्ध अवस्थाका आमाबुबाको स्वास्थ अवस्थादेखि अन्य कुनै किसिमको आवश्यकताप्रति हामीले ध्यान दिइरहेको हुँदैनौँ ।

 

कतिपयले ध्यान दिनै नचाहेको पनि धेरै उदाहरण हामीमाझ छ्न् । जसका कारण कतिपय बृद्ध मातापिता अलपत्र अवस्थामा भेटिने गरेको हामीले देखेसुनेकै कुरा हो। कतै इच्छा विपरीत बृद्ध आश्रमको सहारामा बाँच्न बाध्य रहेको पनि भेटिन्छ । एक पटक सोचौँ त, आजको दिनसम्म हामीलाई सक्षम अवस्थामा ल्याइपुर्‍याउन हाम्रो मातापिताले कति कठोर त्याग गर्नुपर्यो होला ? हामी सवल भइसकेपछि मातापिताको लागि समयसम्म दिन नसक्नु कस्तो दुर्भाग्यको विषय होला ? कतै हामीले आफ्नो निजी स्वार्थका कारण आफ्नो अमूल्य धन (माता, पिता) गुमाइरहेका त छैनौँ ? यो गम्भीर प्रश्न हामी हरेकले आफूसँग गर्ने हो भने हामीले गरेको व्यबहारबाट पक्कै पनि आफैँ सही उत्तर पाउने छौँ ।

 

वर्तमान अवस्थामा कार्य ब्यस्तताले धेरैको सबै परिवार सँगै बस्ने वातावरण हुँदैन। टाढा बसेर पनि भावनात्मक सम्बन्धबाट नजिकै हुन सकिन्छ। प्रविधिको विकासले देश विदेश जुनसुकै कुनामा रहेको हामीलाई नजिकै हुन ठुलो सहयोग गरेको छ। यद्यपि, यसको लागि पनि सेवा सुविधा भएरमात्रै पर्याप्त हुँदैन । जबसम्म मनबाट आत्मीयताको भवना जागरुक हुँदैन तबसम्म हामीले अरुको भावना बुझ्न सक्दिनौँ । त्यसैले अर्को ब्यक्तिउपर माया, प्रेम, स्नेह, जिम्मेवारी महशुस हुनु अति जरुरी हुन्छ। अन्यथा जतिसुकै धन सम्पत्ति भएता पनि, जस्तोसुकै प्रविधि प्रयोग गरेता पनि अर्थात एउटै छानोमुनी बसे पनि दूरी कायमै रह्न्छ।

 

अमानवीयरुपले बढ्दो आधुनिकता वा देखासिखीले गर्दा भनौँ सानो परिवार सुखी परिवारमा बस्ने भन्दै आफूलाई संसार देखाउने बृद्ध अअवस्थाकी आमासँग छुट्टिएर बस्ने गरेको हाम्रो समाजमा यथेष्ट उदाहरण छ्न्। जुन आमाले ९ महिना कोखमा बोकेर दश धारा दूध खुवाएर अनेकौँ दुःखकष्ट झेलेर आफ्नो सन्तानलाई सक्षम बनाइन्, आज तिनै आमा परिवारको लागि बोझ बन्छिन्, परिवारमा अटाउँदिनन्, उनी एक्लो कष्टकर जीवन बिताउन बाध्य हुन्छिन्।

 

यसर्थ, समाज कुन तीतो यथार्थताको आधुनिकतातिर गइरहेको छ ? चिन्तनको विषय बनेको छ। अनि यही समाजमा आमाको मुख हेर्ने दिन भनेर तछाड्मछाड गरेर झोलाभरी फलफूल, मिठाइ र लताकपडा बोकेर हामी आमा खोज्दै हिँड्छौँ। वर्षभरि हाम्री ती आमा कुन अवस्थाबाट गुज्रिन् होला भन्ने कुरामा हाम्रो ध्यान भने पुगेकै हुँदैन। औंसीको दिन मुख हेर्नलाई मात्रै आमा खोज्दै बोकेको झोलाको फलफूल, मिठाइ र लत्ताकपडाले आमालाई पक्कै पनि आनन्द दिन सक्दैन होला।

 

हरेक सन्तानले आफ्नो आमाको लागि प्रत्येक दिन आमाको मुख हेर्ने दिन हो भन्ने कुरा हेक्का राखी आमालाई माया दिन सक्नुपर्छ। सन्तानको मीठो बोली र सम्मानजनक व्यवहार नै आमाको लागि गुलियो मिठाइभन्दा मीठो हुन्छ। आमाको लागि सन्तानले दिने समय नै अमुल्य उपहार हुन्छ । त्यसैले हरेक दिन गर्ने असल व्यवहार जेजति खुशी आमालाई दिन सक्छ, वर्षमा एक दिन आमाको मुख हेर्ने दिनमात्रै दिएको उपहारले कदापि खुशी दिन सक्दैन।

 

आमालाई माया गर्न, मीठो खानेकुरा खुवाउन, मनले चाहेको उपहार दिन, हालखबर सोधपुछ गर्न सन्तानले कुनै विशेष दिन कुर्नु पर्दैन। हरेक पल आमाको र सन्तानबीच मातातीर्थ औंसीको झैँ सुमधुर सम्बन्ध कायम हुनु पर्छ अनि मात्रै आमाको हँसिलो मुहार देख्न र त्यसको अनुभूति गर्न सकिन्छ। यसरी हरेक घर घरमा सन्तान र अभिभावकबीच प्रत्येक दिन मातातीर्थ औंसीको सम्बन्ध कायम भइदिए कुनै पनि बृद्ध आमाबुबाको लागि भनेर बृद्ध आश्रम बनाउनु पर्ने थिएन होला।
                                                                                                                                                           – अर्जुनधारा, झापा