काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।
शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका १२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए । ‘नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उसलाई नियन्त्रणमा लिएर हामीलाई ह्याण्डओभर गरेको छ’ उनले भने ।
७ घण्टा ६५ मेगावाट बिजुली बन्द
नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर रहेको हो ।
‘७ घण्टादेखि माथिल्लो त्रिशूली ३ ए र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको थियो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिएको थियो । भारतबाट पनि बिजुली ल्याइएको छ ।’
प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।