अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले नेपाली सेनाको सहयोगमा आठौं राष्ट्रपति चुरे संरक्षण दिवसको अवसर पारेर बिहीबार वृक्षारोपण गरेको छ ।

 

सामुदायिक वन अन्र्तगत ३ नम्बर ब्लकको खारभित्तामा रहेको पर्यटकीय स्थल ‘हात्ती आहाल’ क्षेत्रमा वृक्षारोपण गरेको हो । उक्त क्षेत्रमा जमुना, मसला र मलेसियन सखुवा प्रजातिका पाँच सय बिरुवा रोपिएको समूहका अध्यक्ष चन्द्र प्रसाईंले जानकारी दिए ।

 

समूहका अध्यक्ष प्रसाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा र विशेष अतिथि कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख राजु खड्काले संयुक्तरुपमा मलेसियन सखुवाको बिरुवा रोप्दै गरेका थिए ।

 

वृक्षारोपण कार्यक्रममा वन समूहका पदाधिकारी तथा सदस्य, नेपाली सेनाका जवान र स्थानीय उपभोक्ताले बिरुवा रोपेका थिए । समूहले यसअघि पनि विश्व वातावरण दिवसको सन्दर्भमा पनि दुई हजार पाँच सय बिरुवा रोपेको समूहकी सचिव प्रभा नेपालले जानकारी दिइन् ।