काठमाडौँ । सगरमाथा र मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका दुई भारतीयको बाटोमै मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन ।

हिजो दिउँसो आरोहण सकेर फर्किने क्रममा भारतीय सैनिक रवी ठाकुरको अक्सिजन अभावले मृत्यु भएको भएको खबर आएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले बताउनुभयो ।

सेभेन समिटको व्यवस्थापनमा गएका ठाकुर आरोहण सकेर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ । सोही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किदै गर्दा अर्का भारतीय सैनिक नारायण सिंहको पनि मृत्यु भएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

८ हजार ४ सय ८१ मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष भने वेपत्ता भएका छन । यसअघि गत बुधबार कजनजंघा आरोहणका क्रममा २ भारतीय नागरिकका मृत्यु भएको थियो भने चिलिका एक नागरिक वेपत्ता छन् । यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।