मोरङ । भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका २ गंगा चोकमा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ ।

 

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ नै जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिएको हो ।

 

कन्टेनरले बिहान ६ः४५ बजेतिर कोसी लोकमार्गमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका ७ का २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।

 

कन्टेनरको तीव्र गतिका कारण दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक कार्कीले बताए।