विराटनगर । बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाका सुनसरी ईटहरी उपमहानगरपालिका का ३६ वर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उपमहानगरपालिका २० देवीगाउँका २८ वर्षीय रामशरण राई रहेका छन् ।

 

उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकेर बसेको अवस्थामा पोदारलाई बिहीवार र राईलाई गत १६ गते पक्राउ गरिएको हो ।

 

पक्राउ परेका दुवैलाई अदालतबाट कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । प्रतिवादी सुशिल पोदार भएको बहुविवाह मुद्दामा सुनसरी जिल्ला अदालतको २०७७ असार १ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो ।

 

यस्तै, प्रतिवादी रामशरण राईलाई सवारी ज्यान मुद्दामा मोरङ जिल्ला अदालतको २०७८ माघ २८ गतेको फैसला आदेशले ११ महिना ४ दिन कैद र २ हजार रुपैयाँ जरीवाना तोकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।